Thursday, 23 April 2020

" कठै बिचरा म "

....✍️
रातभरिको ओसिलो सन्नाटालाई छिचोल्दै मिर्मिरेमा झुल्किएको घामको किरणले नासपातिको पातहरुमा झुण्डिरहेका शीतका थोपाहरुलाइ धर्तीमा खसाल्दै थियो । एक बथान भगेराहरु ओहोरदोहोर गर्दै तिनै पातहरु माथी बस्तै उड्दै गरिरहेका थिए , चिसो शीतका थोपा खसेर ओभाएका पातहरुमा न्यानो महसुस गर्दै आफ्नै सुरमै कराउदै थिए । त्यस्तै म जन्मिने बेलामा पनि शीतका थोपा खसेझै आमाका अाँसुका ढिका बरबर्ती खसेका थिए तर भुइमा खस्न नपाउदै आफ्नै साडीको एक छेउमा बिलाउथे । निक्कै कष्टले जन्मिएको " त " त्यसैले होला धेरै माया लाग्छ । यहि शब्द आज पनि गुन्जिरहन्छ कानमा । शब्द बर्षौ पुरानो हो र पनि हरेक पल ताजा लाग्छ ,भर्खरै बोलेजस्तो उहीँ आमाको मुखबाट ।


आफु भोको रहेर पनि पटुकामा बाधेर ल्याएको आधा रोटी खान पाउनु आफैमा गर्व लाग्थ्यो । मेलापात गरेर आउदा पनि आमाले  केही न केही ल्याइदिनु हुन्छ भन्ने मनमा सधै लाग्थ्यो र अाँगनको डिलमा उभिएर आमा आउने बाटो कुरिरहन्थे । दैनिकी जस्तो आमा आउन अबेर भयो भने आमा आउने आधा बाटो सम्म दुगुर्दै जान्थे र आमाको काखमा सङै फर्किन्थे फुरुङ्ग हुँदै ।
सोध्थे - आमा आज केही ल्याइदिनु भएन ? झलझली आँखामा नाचिरहन्छ चाहेर पनि त्यो बाल्यकाल लाई बिर्सिन कहाँ सकिदो रहेछ र कठै बिचरा " म " !!!

हरेक दिन आमाको तस्बिर हेरेर मुस्कुराउने म खै कुन्नी किन ओठमा खुसी भन्दा पहिल्यै आँखामा आँसु रसाए । हरेक दिन , हरेक पल आउने यादहरु लाई उछिन्दै आज धड्कन बढेर आउदैछ । शुन्यतामा हराएको म अब हावमा पनि आमाको न्यानो मायाको स्पर्श र हृदयमा आमाका तस्वीरहरु सलबलाउनु सायद यो कुनै संयोग हुनुपर्छ । आमा भनेर बोलाउने शब्द नै अधुरो रह्यो यो जीवनमा  ! आज मातातीर्थऔंसी हरेक मानवजातिलाइ जन्मदिने र सन्तान जन्माएर आमा बनेका सृष्टि सृजना गर्ने भगवान रुपि आमाहरु प्रती सतसत नमन ।



तस्बिर मुटुमा थियो । मनमा थियो र  आँखामा आइनैरह्यो । सोसल साइटमा पोस्टिएका हरेक आमाका तस्बिर जस्तै आफ्नै आमालाइ पनि पस्किन मन थियो तर सकिन र आमालाइ यस्पालिको मातातीर्थऔंसीमा पनि हृदयमै मात्र ।

सम्झिन्छु आज आमा भैदिएको भए मैले भन्दा पहिल्यै फोन गरेर - बाबु कोरोनाको कस्तो प्रकोप छ त्यहा ? आफुलाइ ख्याल राख्नु धेरै , बाहिर ननिस्किनु , समयमै खाना खानु ,  चिसो पानी नखानु तातो पानी पिउनु है , तिमिलाइ निमोनियाको समस्या हुन्छ , सानैमा कति दु:खले बचाएको । अब लकडाउन खुल्ने बित्तिकै घर आउनु । पर्दैन त्यहा बस्न । यहि दु:खसुख गरि बसौला । अफसोस न आमाको फोन आउन सम्भव छ न त आमालाइ फोन गरेर दु:खसुख साट्न नै । अब त यहि निर्जीव तस्बिरहरु र करोडौं थान आमामा सम्झनाहरु बाहेक केही त छैन म सङ्ग । भन्न त मन लाग्छ - आमा म ठिक छु । तपाइको आशीर्वादले छिटो घर सकुसल फर्किन सकु । म जन्मिएको ठाउमा फेरि उस्तै गरि रमाउन सकु । बाल्यकालमा आफ्नै आँगनमा उफ्रिए झै बाबुनानी उफ्रिएको देख्न सकु र आमाले बोकेजस्तै बुइ हालेर  बाबुनानी लाई खुसी राख्न सकु ।
फोन गर्दा बाबु भन्छ - बाबा कहिले आउनु हुन्छ ?
चाहेर पनि यो समयमा फर्किन सकिरहेको छैन । कोरोनाले जताततै त्रसित बनायो । आतंक मच्चायो र स्वदेश फर्किन सकिरहेको छैन र पनि बाबुलाई खुसी राख्न भोलि आउछु भन्न बाहेक अरु बोल्न सकिरहेको छैन तर थाहा छैन त्यो भोलि कहिले आउने हो या अनायसै बिलाएर जाने हो कुन्नि .......

म जस्तै हरेक आमा बिहिन साथिहरु र म जस्तै प्रदेशमा तड्पिएका प्रदेशीहरु सकुसल स्वदेश फिर्न सकुन । आमाहरुको न्यानो काखमा रमाउनेहरु र एक थान सेल्फिमा खुसी साट्नेहरु सवैमा गर्व लाग्छ काश आज मेरोपनी आमा भैदिएको भए .....

समस्त आमाहरुप्रती मातातीर्थऔंसीको शुभकामना र मेरो आमालाइ हार्दिक श्रद्धाञ्जली !!

- शिव बस्याल , मुम्बई - २३ अप्रिल २०२०

No comments:

Post a Comment

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...